काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा अवरोध जारी राखेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेस आक्रामक बनेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गरेको कांग्रेसले धन्यवाद ज्ञापन गर्न नदिई संसद् अवरुद्ध गर्यो । अहिले पनि गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार रहेको कांग्रेसको जिकिर छ । राष्ट्रपतिलाई इज्जतका साथ स्वागत गरेको बताउँदै कांग्रेस सांसद उदयशम्शेर राणाले सरकारका काममा अवरोध जारी रहने संकेत गर्नुभयो ।
नेकपा एमालेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरोध गरेपनि मान्य नहुने जिकिर गरेको छ । अब कांग्रेसलाई पहिला बोल्न नदिने बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई बोल्न नदिए आफूहरूले बोल्ने बताउनुभएको छ । एमाले सांसद सूर्य थापाले देउवा नेतृत्वको कांग्रेसले संस्कृति बिर्सिँदै गएको आरोप लगाउनुभयो । लामिछानेलाई बोल्न दिए धेरै समस्या हल हुने उहाँको तर्क छ ।
संसद्को गतिरोध अन्त्य गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै माओवादी केन्द्रका नेता हिमाल शर्माले आरोप लागेका व्यक्तिलाई बोल्न दिने वातावरण तयार पार्नुपर्ने बताउनुभयो । मुलुकको ऐन कानून निर्माण गर्ने थलो र जनताका समस्या राख्ने केन्द्रलाई बन्धक बनाउन नमिल्ने उहाँको तर्क छ । अवरोध अन्त्यका लागि छलफल गरेर समिति बनाउनै पर्ने भए त्यसपछि निर्णय लिनुपर्ने शर्माको भनाइ छ ।
नीति तथा कार्यक्रम जेठ ९ गतेसम्म छलफल गरेर पारित गर्ने सरकारको योजना रहेको छ । कांग्रेसले संसद् चल्न नदिएर पेलेरै जाने सत्तारुढ दलको तयारी रहेको छ । आज भएको ओली–प्रचण्ड र लामिछानेको छलफलले पनि नीति तथा कार्यक्रमलाई असर नहुने गरी प्रक्रिया मिलाएर जाने तयारी गरेका छन् ।