काठमाडौं । सत्ताबाट बाहिर आएसँगै नेपाली कांग्रेसले पहिलो दिनदेखि नै उठाएको एउटा मुद्दा हो गृहमन्त्री रवि लामिछानेको राजीनामा । क्रमशः यो आवाज बढ्दै जाँदा संसदीय छानबिन समितिसम्म आइपुगेको छ । पछिल्लो समय त समिति बनाएर अनुसन्धान शुरु गरे राजीनामा नमाग्नेसम्म कांग्रेस पुगेको छ । संसद्मा २१ सिटको प्रतिनिधित्व गरेको पार्टी रास्वपा अहिलेको सरकार जोगाउन निर्णायक शक्तिमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएको १५७ जनाको विश्वासको मतमा रास्वपा बाहिरिँदा सरकार ढल्छ । अहिले जसपा नेपाल पनि सरकारबाट बाहिरिइसकेको छ । यो अवस्थामा प्रधानमन्त्री प्रचण्ड समिति बनाउने मूडमा पुग्नुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केशीले पनि ठगले प्रमाण लुकाउने हुँदा छानबिन जरुरी रहेकोमा जोड दिनुभएको छ ।
नेकपा एमाले कुनैपनि हालतमा संसदीय छानबिन समितिको पक्षमा देखिएको छैन । समिति बनाउँदा उल्टै पीडकले उन्मुक्ति पाउने र कांग्रेसले यसलाई गलत नियतका साथ बालहट गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाको दाबी छ ।
गृहमन्त्री लामिछानेले तालुकदार मन्त्रालयको नेतृत्व लिएकोले छानबिनमा शंका पैदा भएको कांग्रेसको ठहर छ । कांग्रेस नेता एवं सांसद उदयशम्शेर राणाले लामिछाने सांसद नै रहँदा समिति आवश्यक नरहेपनि गृहमन्त्री भइसकेपछि समिति बनाएरै छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीलाई टसमस गर्न नसक्ने जिकिर गर्नुभयो । पछिल्लो समय सत्ता धरापमा पर्ने डरले प्रचण्डलाई पिरोलेको उहाँको दाबी छ ।
जेठ १ गते आह्वान भएको संसद्मा के हुन्छ भन्नेमा अझै अन्यौलता देखिएको छ । जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक बाध्यता रहेपनि दलहरूको आपसी द्वन्द्वले समस्या निम्त्याएको छ । यो अराजकताको चाँडै हल हुन जरुरी छ ।