काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताउनुभयो।
उहाँले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाउनुभएको छ। उहाँले सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको बताउनुभयो।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको बताउनुभयो। उहाँले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने चेतावनी दिनुभयो।
उहाँले संसदीय व्यवस्थामा गणितको ठूलो मूल्य हुने र यो विभाजनमा स्वयं प्रधानमन्त्री नै आफ्नो हात छ भनेर स्वीकार गरिसकेपछि नैतिक रुपमा सरकारमा बसिरहन उचित नलागेको बताउनुभयो। सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताउनुभयो।