काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभामा सोमबार(आज) भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत परेको छ ।
कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश सभा सदस्यले मत हालेका छन् । विश्वासको मतका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको छ। राप्रपाका ६ प्रदेश सभा सदस्य रहेका छन् ।
उता २९ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसले भने प्रदेश सभा बैठक बहिष्कार गरेको छ । कुल ९३ सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई बहुमत ४७ मत आवश्यक थियो । मतदानमा ६२ प्रदेश सभा उपस्थित थिए ।
कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।
कार्की संविधानको धारा १६८ उपधारा ५ अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ ।
तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको छ । उक्त रिटमा अदालतले अन्तरिम आदेश नदिए पनि जेठ ९ गते पूर्ण सुनुवाइका लागि पेसी तोकेको छ ।