काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक ललितपुरमा बस्दैछ । पार्टी विभाजनपछि केन्द्रीय समितिको यो पहिलो बैठक हो ।
जसपा नेपालबाट अशोक राई नेतृत्वमा पार्टी विभाजन भएपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ ।
केन्द्रीय सदस्य आउने क्रम जारी रहेको कारण बैठकमा केही ढिलाइ भएको पार्टी केन्द्रीय कार्यालय सचिव सीपी सिंहले बताउनुभयो । बैठक भोलिसम्म चल्नेछ । बैठकस्थलमा आउने केन्द्रीय सदस्यहरूले आफ्नो नाम दर्ता गराइरहेका छन् । यो बैठकले कसको पक्षमा कति केन्द्रीय सदस्य रहेको कुरा पनि तय गर्ने भएको हुनाले सबैको नाम दर्ता तथा हस्ताक्षर गराउने काम भइरहेको छ । हालसम्म दुई सय जनाभन्दा बढीले नाम दर्ता गराइसकेको बताइएको छ ।
जसपाको केन्द्रीय समिति ३६५ सदस्यीय रहेका े छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिमा आफ्नो बहुमत रहेको दाबी गर्दै आउनुभएको छ ।
१८ जना कार्यकारिणी सदस्यमध्ये एक जना सदस्य अशोक राईको पक्षमा लागिसकेका छन् । अशोक राई नेतृत्वको जसपाले ३२ सदस्यीय कार्य समिति पनि घोषण गरेको छ ।
निर्वाचन आयोगले प्रदेश तथा स्थानीय तहको प्रतिनिधिका लागि सनाखतको समय दिएको छ । जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा सनाखतको काम पनि भइरहेको छ ।