काठमाडौं। नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता छानबिन गर्न संसदिय समिति नबनेसम्म संसद चल्न नदिने अडान राखेको छ। नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडानबाट हलचल नभएको बताउनु भएको छ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता पुनले देशको उपप्रधान तथा गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्तिमाथी नै यति ठुलो प्रश्न खडा हुँदा पनि सरकार छानबिन समिति बनाउनबाट भाग्न खोज्नु लज्जास्पद कुरा भएको टिप्पणी गर्नुभयो।
उहाँले कांग्रेसले गृहमन्त्रीलाई आरोप मात्रै लगाएको नभै आरोपबाट निर्दोष ठहरिन अवसर सृजना गरिदिएको दाबी गर्नुभयो। यदि सहकारी प्रकरणमा निर्दोश भए गृहमन्त्री छानबिनबाट किन भागेको ? भन्ने प्रश्न उहाँले गर्नुभयो।
यस्तै नेता पुनले प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणको कुरा उठाउँदा सबैभन्दा बढी एमाले अताल्लिएको बताउनुभयो। यसले सहकारी प्रकरणमा कतै एमालेको पनि संलग्नता त छैन भन्ने प्रश्न खडा भएकोे बताउनुभयो।