काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिरामी संख्याको अनुपातमा नर्सको दरबन्दी कायम गर्न सरकार तयार रहेको बताउनुभएको छ।
आज १४ औं नर्सिङ सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा उहाँले नर्सहरुको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनु भएको हो ।
संगठन तथा व्यवस्थापन सर्वे गरी दरबन्दी थप गर्नेबारे नेपाल सरकारको तर्फबाट मैले विभिन्न चरणमा छलफल समेत चलाएको छु । र छिटै यसको समाधानतिर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
उहाँले नर्सहरुले लामो समयसम्म इन्टर्नमा काम गर्नुपर्ने, जगिर पाएका नर्सहरुको पनि पारिश्रमिक अत्यन्त न्यून रहने, ग्रामीण तथा दूरदराजमा काम गर्ने नर्सहरुका लागि प्रोत्साहनका कार्यक्रमहरु पनि नहुने समस्या आफूलाई थाहा भएको बताउनुभयो ।
निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरुमा नेपाल सरकारको न्यूनतम पारिश्रमिक सरह सेवा सुविधा सुनिश्चित हुनुपर्ने, उत्पादित जनशक्तिलाई स्वदेशमै राजेगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गर्नुपर्ने जस्ता नर्सिङ क्षेत्रको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।