काठमाडौं। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन भएकाले त्यसबाट पछि नहट्ने दलको बैठकले निर्णय गरेको जानकारी दिनुभएको छ।
‘रवि लामिछानेबारे संसदीय छानबिन समितिको मागबारे औचित्य पुष्टि भइसकेको छ । अब यो माग कांग्रेसको मात्र नभएर नेपाली जनताकै भएको छ’, लेखकले भन्न्ुभयो, ‘यदि सरकार विपक्षको मागलाई सम्बोधन गर्न तयार भएन भने सदनका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय गरेको छ ।’
नेता लेखकले आजको बैठकमा आफूहरू कुरा राख्ने र त्यसपछि संसद्मा को को बोल्न माग गर्छन् सोही अनुसार अघि बढ्ने बताउनुभयो ।
‘हामी आफ्ना कुरा राख्छौ । त्यसपछि को–को बोल्छन् त्यसका आधारमा अघि बढ्छौ’, लेखकको भनाई छ ।
यसैबिच, नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो ।
बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।