काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवादिन सबैभन्दा पहिले सडक सञ्जालको विकास गर्नुपर्ने बताउनु भएको छ। उहाँले सडक नभएसम्म अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोड दिनुपर्ने बताउनु भयो।
आज कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको १५ शय्याको अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो,’आज अस्पताल उद्घाटन भयो यदि यहाँ सडक नभएमा नागरिक कसरी आउँथे ?,सडक भएकाले यहाँ बनेको यो अस्पतालबाट जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउनेछन् ।’
तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको बताउँदै कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो।