काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्मा प्रधानमन्त्री पदलाई बलियो बनाउनुपर्नेमा जोड बताउनु भएको छ।
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद्(काम, कर्तव्य,अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा बोल्दै सञ्चारमन्त्री शर्माले परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो।
सञ्चारमन्त्री शर्माले विधेयक पनि परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनेगरी ल्याइएको बताउनुभयो। उहाँले परिषद्को अध्यक्ष नै प्रधानमन्त्री हुने र अध्यक्षले नै बैठक बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै अध्यक्ष बिनाको निर्णय मनासिब नहुने धारणा राख्नुभयो ।
मन्त्री शर्माले विधेयकलाई समिति र संसदले सहमतीपूर्वक अगाडि बढाउन चाहेमा त्यसमा सरकार बाधक नबन्ने स्पष्ट पार्नुभयो ।