काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने बताउनुभएको छ । शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमा मेन्सन गर्दै विद्यार्थीको अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गर्नुभएको हो।
देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर रहेको उहाँले लेख्नुभएको छ । बिभिन्न सञ्चारमाध्याममा दसैंका दिन देहरादुनमा नेपाली विद्यार्थी कुटिए शीर्षकमा समाचार प्रशाशित–प्रकाशित भएका थिए।
यस्तै कुटिएका पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेका छन् । विद्यार्थीहरूको विषयमा छानविन भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । प्रहरीका अनुसार पाँचै विद्यार्थी रोल्पाका हुन् । महेन्द्रनगर आइपुगेका पाँच सहित ५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले १० कात्तिकमा निर्घात कुटपिट गरेको विद्यार्थीका अभिभावकहरूले बताएका छन् ।
कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, नुवाकोट, रामेछापलगायत १९ जिल्लाका विद्यार्थी छन् । शाक्य एकेडेमीमा करिब दुई सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।