काठमाडौं। प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेको आह्वानमा आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दै छ। सभामुख घिमिरेले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बैठक बोलाउनु भएको हो।
संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाउनु भएको छ।
सहकारी प्रकरणमा रास्वपा सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनमा निरन्तर बैठक अवरोध गरेको थियो।
कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि यसपटक सभामुख घिमिरेले शीर्ष नेताहरुको बैठक बोलाउनुभएको हो।