Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

जनसरोकारका विषयमा पाल्पा काँग्रेसले गरायो सिडियोलाई ध्यानाकर्षण

जनसरोकारका विषयमा पाल्पा काँग्रेसले गरायो सिडियोलाई ध्यानाकर्षण

  • सोमवार, बैशाख २४ २०८१

  • 532
    SHARES

  • जनसरोकारका विषयमा पाल्पा काँग्रेसले गरायो सिडियोलाई ध्यानाकर्षण

    काठमाडौं। नेपाली काँग्रेस पाल्पाले जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । उसले दैवी विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदुषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नुु परेका समस्याहरुको समाधान गर्न प्रमुुख जिल्ला अधिकारी आनन्द काफ्लेको ध्यानाकर्षण गराएको हो ।

    विगत केही दिनदेखि पाल्पाका विभिन्न स्थानमा आगलागी, वनजंगलमा डढेलो, वातावण प्रदुषण बढ्दै गएको र यातायातको भाडादरमा अपारदर्शिता, पशुचौपायाको अवैध निकासी भएका विषयमा सोमबार जिल्ला सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा गएको काँग्रेस नेताहरुको एक टोलीले जिल्ला प्रशासन कार्यालय पुुगेर प्रमुख जिल्ला अधिकारी काफ्लेको ध्यानाकर्षण गराएको छ ।

    काँग्रेसले लामो खडेरी र प्रचण्ड गर्मीका कारण आगलागीका घटना बढ्दै जाँदा जनजीवन अस्तव्यस्त हुनुको साथै ठूलो भौतिक क्षति व्यहोर्नु परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    उसले जंगल र मानववस्तीमा सल्केको आगो नियन्त्रणबाहिर जाने अवस्थामा रहेकाले बेलैमा प्रभावकारी कदम नचालिए थप जनधनको क्षति हुनुुको साथै पर्यावरणीय सन्तुलनमा समेत व्यापक असर पार्ने भएकाले त्यसतर्फ स्थानीय, प्रदेश, संघीय सरकार र राजनीतिक दलहरुसँग समन्वय गरी प्रकोप न्यूनिकरण र राहतका लागि यथाशीघ्र कदम चाल्न प्रजिअलाई आग्रह गरेको छ ।

    काँग्रेसले देशभर सहकारी काण्डका घटनाहरु बहिर आइरहेकाले पाल्पामा पनि त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आवश्यक समन्वय र अनुुगमन गर्न माग गरेको छ ।

    काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठद्वारा जारी ध्यानाकर्षण पत्रमा पाल्पा जिल्लामा सञ्चालित सहकारीको अवस्था के छ ? बचत र ऋण परिचालन सहकारीको मापदण्डअनुसार भएको छ कि छैन ? यस विषयमा कानुनको अधिनमा रही आवश्यक समन्वय र अनुगमनका निम्ति जोडदार माग गर्नुका साथै आमजनताले आफ्नो पसिना खर्च गरेर जम्मा गरेको बचत कुनै पनि अवस्थामा डुब्नु हुँदैन भन्ने मान्यतामा नेपाली काँग्रेस आडिग रहेको उल्लेख गरिएको छ ।

    नागरिकको जीउधनको सुरक्षा राज्यको पहिलो प्राथमिकता रहेको र हुनुपर्ने काँग्रेस सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो। उहाँले जनताका हरेक समस्यामा कॉंग्रेस पाल्पा सबैसँग हातेमालो गरेर हिड्न तयार रहेको उल्लेख गर्नुभयो। सभापति श्रेष्ठले भन्नुभयो ‘लामो खडेरीका कारण कृषि उत्पादनमा पर्ने असर र यसले आमकृषकलाई पार्ने क्षति न्यूनीकरणका निम्ति आवश्यक समन्वयका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’

    विगत केही दिनदेखि कालीगण्डकी कोरीडोर भएर अवैध रुपमा पशुचौपाया निकासी भईरहेको भन्ने व्यापक जनगुनासो आइरहेको र सोही विषयलाई लिएर रामपुरमा झडपसमेत भएको विषयप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ। सो विषयमा सत्यतथ्य जनसमक्ष ल्याउन र आगामी दिनहरुमा त्यस्ता गतिविधि हुन नदिने व्यवस्था गर्न पनि काँग्रेस पाल्पाले जोडदार माग गरेको छ।

    उसले स्वास्थ्य बीमा सबै नेपालीको स्वास्थ्य उपचारसँग सम्बन्धित विषय भएकाले सबैसँग मिलेर स्वास्थ्य बीमा कार्यक्रम सहज र विरामीमैत्री बनाउन सम्बन्धित निकायसँग काँग्रेसले पहल गरेको पनि बताइएको छ । तर सेवा प्रदायक स्वास्थ संस्थाहरुबाट सहज सेवा प्राप्त भएन भन्ने जनगुनासो आएकाले यसप्रति पनि काँग्रेसको ध्यानाकर्षण भएको छ ।

    उसले यस विषयमा सिफारिश प्रक्रिया झन्झटिलो भएकाले उक्त प्रक्रिया सरल र सहज बनाउन सम्बन्धित निकायमा तत्काल पहल गरिदिन समेत प्रजिअ काफ्लेसँग जोडदार माग गरेको छ। काँग्रेसले जिल्ला भित्रका विभिन्न ठाउँमा निर्माण र मर्मत सम्भारको काम भइरहेका ठाउँहरुमा खाल्डा खुल्डी धुलो आदिका कारणले यात्रु वर्गलाई असुविधा भइरहेकाले त्यसतर्फ पनि ध्यान दिन भनेको छ।

    उसले पाल्पामा सञ्चालित खानी, उद्योगहरु मापदण्डअनुसार नचलेको, नजिकमा मानववस्तीमा वातावरणीय असर पुगिरहको भन्ने जनगुनासोप्रति पनि आपफ्नो ध्यान आकर्षण भएको जनाएको छ। तत्काल यसको व्यवस्थापनका लागि पनि काँग्रेसले माग गरेको छ। जिल्लामा रहेका सार्वजनिक जग्गा र यहाँ रहेका ऐतिहासिक, सांस्कृतिक पुरातात्विक, धार्मिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा समेत ध्यान दिनुुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

    प्रमुुख जिल्ला अधिकारी आनन्द काफ्ले ध्यानाकर्षण पत्र बुुझ्दै काँग्रेसले ध्यानाकर्षण गराएका जनसरोकारका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो। उहाँले काँग्रेसले उठाएका केही विषयहरु सम्बोधन भइसकेको र केही सम्बोधनकै क्रममा रहेको उल्लेख गर्नुभयो। प्रजिअ काफ्ले जनताका समस्याहरु समाधानमा स्थानीय, प्रदेश, संघीय सरकार राजनीतिक दलहरुसँग समन्वय भइरहेको बताउनुभयो । कार्यक्रममा काँग्रेस जिल्ला सचिव सुनिता अधिकारीले ध्यानाकर्षण पत्र वाचन गरेर सुुनाउनु भएको थियो।


    सोमवार, बैशाख २४ २०८१०७:५७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij