काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोप्य रुपमा भेटेर फर्किनु भएका भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल विषेश दूतका रुपमा नआएको नेकपाकै नेताहरुले दावी गरेका छन् ।
गुप्तचर प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूतका रुपमा नभइ नेपालका प्रधानमन्त्री ओलीले बोलाए आएको उनीहरुको भनाई छ ।
भारतीय गुप्तचर निकाय रअका प्रमुख गोयल विषेश दूतका रुपमा आएको भए आउनु पूर्व नै सार्वजनिक हुने, परराष्ट्र मन्त्रालयलाइ जानकारी हुने, मन्त्रालय र नेपाल स्थीत भारतीय दूतावासका प्रतिनिधिले विमानस्थलमा स्वागत गर्ने हुनुपर्नेमा त्यस्तो नभएको नेकपाका नेता मात्रिका प्रसाद यादवको तर्क छ ।
उहाँसँगको भेटका बारेमा प्रधानमन्त्रीको निजि सचिवालयले शुरुमा सार्वजनिक गर्दा विषेश दूतको रुपमा भेट भएको उल्लेख नगरेको र सर्वत्र दवाव र आलोचना भएपछि मात्रै विषेश दूत भनिएको उहाँले बताउनुभयो ।
गुप्तचर प्रमुख गोयल दूतको रुपमा आएको कुरा भारतीय पक्षले पनि नबोलेको यादवले नेपाली रेडियो नेटवर्कसँग भन्नुभयो ।
नेकपा नेता यादवले आफ्नो पार्टीमा हत्यारा र त्यसबाट पिडितहरु पनि रहेको टिप्पणी गर्दै पार्टीमा अन्याय अत्याचार हुने गरेको उल्लेख गर्नुभयो ।
उहाँले आफु अहिले क्रान्तिकारी नरहेको स्वघोषणा गर्दै पार्टी एकताका कतिपय प्रक्रिया र अवस्थाप्रति आफु त्यतिबेला देखिनै असहमत रहेको जानकारी दिनुभयो । आफ्नै पार्टीले बनाएको अहिलेको सरकारले जनताको चाहना र संवैधानिक व्यवस्था अनुसार काम नगरेको उहाँले आरोप लगाउनुभयो ।