काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री नियुक्ति भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार उहाँले आज विश्वासको मत लिने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र विश्वासको मत लिने कार्यसूची तय गरिएको कार्यव्यवस्था परामर्श समितिका सदस्य फणीन्द्र देवकोटाले जानकारी दिएका छन् ।
कार्यसूची तयसँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउलान् वा फेरि विवादास्पद घटना होला भन्ने आमसंशय छ । अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो । सोही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गतेसम्म सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभयो ।
सरकार गठनमा सभामुखलाई गणना गर्दै चैत २५ मा खगराज गण्डकीको मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुग्नुभएको थियो । उहाँको रिटलाई खारेज गर्दै सर्वोच्चले मुख्यमन्त्री खगराजको पद थमौती गरेको थियो ।
६० सदस्यीय गण्डकीमा विश्वासको मतका लागि संविधान अनुरूप ३१ सांसद आवश्यक पर्छ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन उहाँको दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ह्वीप जारी गरेका छन् ।
अधिकारीलाई २ सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने समर्थन नगर्ने संकेत गरेको छ । यो अवस्थामा विश्वासको मत पाउन सकस देखिन्छ ।