काठमाडौं । निकै तामझामका साथ उपनिर्वाचनमा होमिएका दलहरूलाई हालको परिणामले झस्काएको छ । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेले आफ्नो विरासत कायम राख्ने अवसर जुटेको छ भने बझाङमा कांग्रेसको सिट खोसेको छ । बझाङ प्रदेशसभा १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार ६१३ मतका साथ निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभएको छ । एमाले र कांग्रेसको मतान्तर हेर्दा प्रतिस्पर्धात्मक नै देखिएको छ । इलाममा एमाले, माओवादी केन्द्र, नेकपा विप्लवको गठबन्धन रहेको थियो भने नेपाली कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो । दलबल र उत्साहका साथ प्रतिनिधिसभा उपनिर्वाचनमा होमिएको रास्वपाका लागि भने यो निर्वाचन निकै महंगो परेको छ । गृहमन्त्री, श्रममन्त्री, शिक्षामन्त्री, खेलकुदमन्त्री हुँदै पार्टीका सांसदहरूको बास इलाममा हुँदा पनि मतदाता टसमस नहुँदा रास्वपाका लागि टाउको दुखाईको विषय बनेको छ । यता, कांग्रेस सांसद रामहरि खतिवडाले एमालेको गठजोडले केही प्रभाव पारेपनि पार्टीको मतमा कुनै फरक नदेखिएको दाबी गर्नुभयो ।
उपनिर्वाचनमा रास्वपा प्रतिस्पर्धाको तहमा समेत आउन नसक्दा उसको आगामी भविष्य अँध्यारो सुरुङतर्फ मोडिएको राजनीतिक विश्लेषकहरूको तर्क रहेको छ । राज्यशक्तिमै पदासीन रहेको रास्वपाले इलामेली जनताको मन जित्न नसक्नु पछिल्लो समय आएका विभिन्न काण्डहरू र स्वयं उम्मेदवारको कमजोरी रहेको आंकलन गरिएको छ । निश्चित लक्ष्य, उद्देश्य र गन्तव्यलाई खुलाउन नसक्दा समेत रास्वपालाई समस्या निम्तिएको हो । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले अपेक्षित परिणाम आएको बताउँदै रास्वपा खहरेजस्तै रहेको तर्क गर्नुभयो ।
नेकपा एमालेले भने इलामको विजयोन्मुख अवस्था स्वाभाविक रहेको दाबी गरेको छ । नेपाली जनताले मुलुकको विकास र समृद्धिको पक्षमा एमाले डटेर लागेकोले विश्वास गरेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताउनुभयो ।
अहिलेको मत परिणामले स्थापित पुराना राजनीतिक दल नेकपा एमाले र कांग्रेसप्रति जनताको भरोसा कायमै रहेको तर यी दलहरूले पटकपटक जनतालाई झुक्याइरहेको प्रतिबिम्वित गरेको देखिन्छ । मुलुकका लागि दुईवटा पार्टी प्रणाली नै सबल रहेको सन्देश पनि यो उपनिर्वाचनले दिएको छ । रास्वपाका लागि भने आगामी यात्रा अन्धकारजस्तै बनेको छ ।