काठमाडौं। उपनिर्वाचनअन्तर्गत आज इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतदानमा ५७ प्रतिशत मात्रै मत खसेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम भइरहेको छ। मतपेटिका सोझै इलाम नगरपालिका ७ मा रहेको गौतम बुद्ध सम्मेलन केन्द्रमा लगिनेछ ।
एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार भन्दा बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।