काठमाडौं । नयाँ सत्ता समीकरण बनेको दुई महिना नपुग्दै पुनः राजनीतिक हलचलको स्थिति पैदा हुने देखिएको छ । समीकरण बनेको शुरुकै दिनदेखि उतारचढाव ल्याएका दलहरूले अहिलेसम्म प्रदेश सरकार समेत निर्माण गर्न सकिरहेका छैनन् । सत्ता साझेदार दलकै नेताहरूले यो गठबन्धन यहीँ महिनाभित्रै फेरबदल हुने दाबी गरेका छन् । नयाँ र पुराना दलहरूको गठबन्धनबाट निर्माण भएको सत्ता समीकरणभित्र नै असन्तुष्टिका चाङ छन् । त्यसको मुख्य दलको रुपमा नेकपा एकीकृत समाजवादी पार्टी देखिएको छ । अहिलेको गठबन्धन कुनैपनि हालतमा जनताको हितमा नरहेको भन्दै पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले यो भत्किने र नयाँ समीकरण बन्ने दाबी गरेका छन् ।
नेपालको राजनीतिमा गठबन्धन बन्नु र भत्किनु सामान्य जस्तै भइसकेको छ । सत्ता र शक्तिको तीव्र आकांक्षा र लालसा नै यसको प्रमुख कारण बनेको छ । जनताको अवस्था जहिलेपनि उस्तै रहने तर राजनीतिक दलहरूले जनतामाथि शासनका नाममा सत्ताको राजनीति गरिरहने प्रक्रिया निरन्तर चलिनै रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल ल्याएसँगै प्रतिपक्षीको बेञ्चमा पुगेको नेपाली कांग्रेस पनि दाउ कुरेर बसिरहेको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सत्तारुढ दलकै कारण सरकार ढल्ने र कांग्रेसले पुनः मुलुकलाई जोगाउनुपर्ने स्थिति पैदा हुने बताउनुभयो ।
पटकपटक बन्ने गठबन्धन र समीकरणले मुलुकको विकासमा असर गरेको छ । यसका साथै, अस्थिर राजनीतिले जनतामा निराशासमेत छाएको छ । गठबन्धन र समीकरणहरू जनताका लागि नभई केवल सत्ताका लागि मात्र बन्ने गरेका छन् । पुराना गठबन्धन भत्केर नयाँ गठबन्धन बनेपनि जनतालाई त्यसले खासै फरक पार्ने छैन । राजनीतिक विश्लेषक देवेश झाले यो व्यवस्थाले मुलुकलाई झनै गहिरो खाडलमा लैजाने बताउनुभयो ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी नयाँ समीकरणको तयारीमा जुटेको देखिन्छ । त्यो छनक सुदूरपश्चिम प्रदेशबाटै देखिएको थियो । केन्द्रमा पनि सोहीअनुसार गृहकार्य अघि बढेको गठबन्धनमा आशंका छ । समाजवादीले सरकारको समर्थन फिर्ता लिनका लागि जसपालाई फकाइराखेको छ । तर, समीकरण बन्दा ढल्दा, जनतालाई कुनै चासो छैन । जनताको मौनतामाथि राजनीतिक दलहरूले अराजकता निम्त्याइरहेका छन् । यसको पूर्णतः अन्त्य आजको आवश्यकता हो ।