काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ।
कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
`नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २०७७ कात्तिक १५ देखि १७ गतेसम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मंसिर १५ देखि १७ गते आयोजना गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।
भदौ २६ गते भएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक कातिक १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको थियो।