काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई शत्रु घोषणा गरेमात्रै पनि आँफुहरु सकिने बताउनु भएको छ।
युवा संघ नेपालको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टीलाई समाप्त पार्ने खेल रहेको टिप्पणी गर्नुभएको हो। अध्यक्ष नेपालले कसैको बहुमत नआएकाले अहिले संसदमा उपस्थित सबै दलको भूमिका समान रहेको दाबी समेत गर्नुभयो।
सम्बोधनमा उहाँले भन्नुभयो, ‘यो चुनावमा कसैको बहुमत आएन, अहिलेको संसदमा १२ वटा पार्टी छन् । त्यसमध्ये ६ वटा सरकारमा छन्। एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट भुइँमै पछारिन्छ । त्यसैले कोही पनि घमण्डी नहोस्। दम्भ नदेखाऔं, झण्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको मुख्यमन्त्रीको सिलसिलामा आइसकेको थियो। तर, प्रधानमन्त्रीले लचकता देखाउनुभयो। कसैले कांग्रेसलाई शत्रु बनाउनुपर्छ भन्छन् जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् । त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त मात्रै हो ।’