काठमाडौं। लगानी सम्मेलनको पूर्वसन्ध्यामा कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपालको राजकीय भ्रमणले सकारात्मक प्रभाव पारेको विश्लेषण हुन थालेको छ। नेपालका लागि श्रमको प्रमुख गन्तव्य र इजरायल हमासद्वन्द्वको समाधानका लागि प्रमुख मध्यस्थकर्ताको भूमिकामा रहेको देशका राजा नेपाल आउँदा लगानीको वातावरणमा थप टेवा पुग्ने अपेक्षा लिइएको छ।
नेपाल र कतारबीच सहकार्य गर्नेसम्बन्धमा २ वटा सम्झौता र ६ वटा समझदारी समेत भएका छन्। सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारीमा हस्ताक्षर भएको छ। राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले लाखौँको संख्यामा नेपालीलाई रोजगार दिएको बताउँदै कुटनीतिक हिसाबले कतार अब्बल बन्दै गएको स्मरण गर्नुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारी पत्रमा नेपालमा कानुन मन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरेका छन्। संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्यसम्बन्धी सम्झौता भएका छन्।
गैसरकारीस्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ। कुटनीतिज्ञ दीपकुमार उपाध्यायले नेपालको जलमात्रै कतार पुगे ठूलो उपलब्धि हुने बताउनुभयो। उहाँले सम्बन्धलाई प्रगाढ बनाउँदै दीर्घकालीन महत्वका योजनामा ध्यान दिनुपर्ने पनि बताउनुभयो।
एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले मध्यपूर्वी यसियाबाट भएको यो उच्चस्तरीय भ्रमणले नेपालको उन्नतीमा इँटा थपेको दाबी गर्नुभयो। सोही क्षेत्रका धेरै देशका प्रमुखहरु नेपाल नआएको अवस्थामा शान्तीका लागि मध्यस्थता गरिरहेको मुलुकका प्रमुख आउनु उपलब्धिमूलक रहेको बडालको भनाइ छ।
कतारी राजाको भ्रमणबाट नेपाले लाभ लिन सक्नुपर्दछ। आफूले गर्ने प्रस्तावहरु दीर्घकालीन महत्वका हुन जरुरी छ। लगानी सम्मेलन आउँदै गर्दा कतारलाई लगानीका लागि प्रोत्साहन गर्न सरकारले कुटनीतिक संवाद बढाउन आवश्यक छ।