काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ । संघीय संसद् सचिवालयले बुधबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सांसद गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिएको हो ।
गत चैत १६ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवाको आदेश दिएको थियो । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरूङ २०७९ पुस १२ गते निलम्बनमा पर्नुभएको थियो ।
गुरुङमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसपछि उहाँ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) र दफा ३३ बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा पर्नुभएको थियो ।