काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको आलोचना भएपछि विगतका कयौँ निर्णय र परम्परालाई नीतिगत निर्णय गरेर सच्चाउनुपर्ने जवाफ दिनुभएको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा विगतका कतिपय निर्णय र परम्परालाई नीतिगत निर्णयमार्फत सच्चाउनुपर्ने बताउनुभएको हो ।
लामिछानेले यसअघि २७ अक्टोबर २०१६ मा चिनियाँ राष्ट्रपति नेपाल आउँदा तत्कालीन सरकारले बिदा दिएकोमा सामाजिक सञ्जालमा आलोचना गर्नुभएको थियो । उक्त पोस्टको स्क्रीनसट भाइरल भइरहेको छ । त्यसबेला आलोचना गर्ने लामिछाने हाल आफै गृहमन्त्री भएर पनि भीआईपी सवारीका नाममा बिदा दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
‘तर विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कूटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न,’ आलोचकलाई जवाफ दिँदै लामिछानेले भन्नुभएको छ, ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन ।’ तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्ने भन्दै धेरै काम भइरहेकाले थोरै धैर्य गरिदिन आग्रह गर्नुभएको छ ।
लामिछानेले यस्तो लेखेका छन् :
विगतका कयौँ निर्णय र परम्परा छन् जसलाई नीतिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक बिदा, ‘भीआइपी सवारी’ का नामको नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक सम्मान, आममाफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरूलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरूलाई दिइँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा पदबहाल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु । रिजल्ट आउँदैछ । तर विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कूटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न । जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ ।
विश्व अर्थ राजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौँ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपाल सँग ऐतिहासिक कूटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु ।
लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रति आभार ।
लोकतन्त्र दिवसको सबैलाई शुभकामना।