काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेकै कार्यक्रममा पुगेर मदन भण्डारीको हत्यारा किन नखोजेको भन्दै एमालेसँग आक्रोश पोख्दै प्रश्न गर्नुभएको छ।
कम्युनिष्ट पार्टीको हिरक जयन्तीको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले कांग्रेसलाई जति गाली गरेपनि एमालेले पटक पटक सरकारको नेतृत्व गर्दा र मदनकै पत्नी विद्यादेवी भण्डारी दुईदुईपटक राष्ट्रपति बन्दासमेत मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताउनु भयो।
कार्यक्रममा सम्बोधन गर्दै देउवाले भन्नुभयो,“म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई कांग्रेसलाई गाली गर्नसम्म गर्नुभयो। अब मैले जवाफ दिन परिहाल्यो, मलाई गाली गरेको ग¥यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस्। मदन भण्डारीको ड्राइभर पनि मारियो। मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन?”
देउवाले थप्नुभयो, “कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुप¥यो तपाईंहरुले।”