काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कैलालीको गेटामा विश्वविद्यालय बनाउन निर्माण गरिएको भौतिक संरचनाहरुको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री श्रेष्ठले आइतबार बिहान निर्माण गर्ने भनिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको पछिल्लो अवस्थाबारे बुझ्न अवलोकन गर्नुभएको हो ।
गेटामा सरकारले २०७९ माघ २९ गते विश्वविद्यालय बनाउने घोषणा गरिसकेको छ । तर, त्यसको २ वर्ष अघि नै करोडौँ लगानी गरेर निर्माण भइसकेका भवन भने हाल सम्म पनि प्रयोगविहीन छन् ।
यस बिचमा वर्तमान प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरूले पटक–पटक अवलोकन गर्ने क्रम भने जारी रहेको छ । आइतबार गेटामा पुगेकी मन्त्री श्रेष्ठले गेटामा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले मेडिकल कलेज सञ्चालनका लागि ३ सय शय्याको अस्पताल सञ्चालन गरेर ६० प्रतिशत अक्युपेन्सी आवश्यक पर्ने भएकाले त्यसका विषयमा के गर्ने भन्ने योजना बनाउनु पर्ने बताउनुभयो । हाल गेटामा १ सय शय्याको अस्पताल मात्रै सञ्चालनमा रहेको छ । जसले ओपिडी सेवा मात्रै दिँदै आएको छ ।