काठमाडौं । नेपालको राजनीतिक दलहरूभित्र एकता र सद्भावको आवश्यकता रहेको भन्दै आवाज उठ्न शुरु भएको छ । विभिन्न दलमा आबद्ध नेताहरूले मुलुकको परिस्थिति ठिक दिशातर्फ नगएको भन्दै राष्ट्रिय एकताको विषय केन्द्रमा रहनुपर्ने बताउन थालेका छन् । तीन पटक राजनीतिक समीकरणमा आएको बदलावले समेत देश स्थिर बन्ने स्थिति नहुँदा डेलिभरीलाई सहज बनाउन एकता नै आवश्यक रहेको नेताहरूको तर्क छ । नेकपा माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले राजनीतिक निकासका लागि कांग्रेस, एमाले र माओवादीको ऐकेवद्धता हरदम आवश्यक रहने बताउनुभयो । उहाँले सबैको सहकार्यबाट टुंग्याउनुपर्ने धेरै विषयहरू बाँकी रहेको बताउनुभयो ।
अहिलेको गठबन्धनले पनि राजनीतिक निकास दिन नसक्ने सत्तासाझेदार दलहरूकै नेताको तर्क रहेको छ । मुलुकलाई अप्ठ्यारोमा पर्न नदिनका लागि मात्रै समीकरण बनेको बताउँदै एमाले नेता माधव ढुंगेलले ठूलो आशा गर्ने ठाउँ नरहेको दाबी गर्नुभयो । सरकार बन्ने र भत्किने चक्रका बीचमा विकास, समृद्धि र रोजगारीलगायतका नारा खोक्रो बन्दै जाँदा चौतर्फी निराशाको बादल मडारिएको छ ।
मुलुकका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुपर्ने भएपनि उनीहरूको इगोका कारण सम्भव हुन सकेको छैन । आम नेता कार्यकर्ताहरूको मनस्थिति भने दुई ठूला दलहरू मिल्नुपर्ने छ । तर, यी दलहरू मिल्न सकिने धेरै मार्ग हुँदा समेत त्यहाँसम्मको बहस नभएको राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीको भनाइ छ । अहिलेको तत्कालीन अवस्थामा दलहरू मिल्ने वातावरण पनि नरहेको उहाँको दाबी छ ।
देशमा भएका धेरै सम्भावनाहरू दिनप्रतिदिन भत्किरहेका छन् । यो देशमा दलका नेता, कार्यकर्ता मात्रै बस्ने स्थितिको सिर्जना भइरहेको छ । राजनीति नैतिकहीन हुँदा आम सर्वसाधारणमा निराशा कायम छ । अबको अवस्था भनेको मुलुकमा विद्यमान सबै राजनीतिक दलहरू एक ठाउँमा आएर देशलाई निकास दिनु हो ।