काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ। आगामी १५ बैशाखमा हुन लागेको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई इलाममा सम्बोधन गर्दै उहाँले अहिलेको सत्ता गठबन्धन निर्माणबाट पनि चुनावअघिको गठबन्धन बेइमानी हो भन्ने पुष्टि हुने बताउनुभयो।
महामन्त्री थापाले भन्नुभयो,‘म कसम खाएर भन्दिनँ,तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज। अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु। मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको।’
उहाँले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताउँदै चुनाव अघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको दाबी गर्नुभयो ।