काठमाडौं। नेपाली कांग्रेसका नेतृ तथा प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणा देउवाले सरकारले सहकारी घोटाला प्रकरण छानबिन गर्नै नचाहेको आरोप लगाउनु भएको छ।
आज काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको भन्दै यस्तो आरोप लगाउनु भएको हो ।
सहकारी संस्थाहरुले मान्छेलाई घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको उहाँले दाबी गर्नुभयो। २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ।