काठमाडौं। भोलीदेखी सुरु हुने नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुने भएका छन्।
आज एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बैठक ललितपुरको सनराइज हलमा दुई दिनसम्म चल्ने र बैठकको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो।
बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरलले सांगठनिक प्रतिवेदन पेस गर्ने तयारी छ। त्यस्तै बैठकमा लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि पेस हुनेछन् भने पार्टीको समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने तयारी छ।
दुई महाधिवेशनको बिचमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ। त्यस्तै वैशाख १० गते पार्टी स्थापना दिवसका अवसरमा हीरक महोत्सव आयोजना गर्दैछ। जसमा एक जनालाई सम्मान गर्ने एमालेले जनाएको छ।
महोत्सवमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेता सहभागी हुने आचार्यले जानकारी दिनुभयो।