काठमाडौं। एमाले रास्वपासहित बनेको नयाँ समिकरणको औचित्यमाथि समेत अनेकन प्रश्नहरु उठिरहेका छन्। प्रदेश सरकार गठनमा आइरहेको समस्याका कारण केन्द्रको समिकरणमा समेत उथलपुथल हुने संकेत गरिरहेको छ। सुदूरपश्चिमको सरकार निर्माणमा देखिएको अदलबदलले केन्द्रलाई झस्काएको थियो ।
नागरिक उन्मुक्ति पार्टीलाई बाइपास गरेर पुनः नेकपा एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिने सहमति भएपनि सहज परिस्थिति छैन। तारन्तारको बदलावले राजनीतिक स्थायित्वमा असर गरिरहेको छ भने विकास र समृद्धिमा बाधा उत्पन्न भइरहेको देखिन्छ।
राजनीतिक विश्लेषक बलराम यादवका अनुसार व्यत्तिगत स्वार्थका कारण सत्तामा उलटपुलट भइरहेको छ। तीब्र महत्वकांक्षा बोेकेका पुराना दल र प्रवृत्तिको अन्त्य नै स्थायित्वको प्रतिक रहेको यादवको भनाइ छ।
समिकरण परिवर्तन भएसँगै प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसको प्रहारले सत्तासाझेदार दलहरु नैतिक प्रश्नमा घेरिएका छन्। बहालवाला गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणका नयाँ नयाँ तथ्य बाहिरिएपछि स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत संकट परेको छ।
रास्वपाका सांसद शिव नेपाली भने पार्टी सभापति लामिछानेमाथिको आरोप निराधार रहेको दाबी गर्नुहुन्छ। नयाँ आएका दलहरुबाट पुराना पार्टी र नेताहरु डराएका कारण मिथ्या आरोपसँगै भ्रमको खेती भइरहेको उहाँको तर्क छ।
राजनीतिक समिकरण परिवर्तन भइराख्ने विषयमा जनताको अभिमतले असर गरिरहेको नेताहरुको भनाइ छ। माओवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलले उथलपुथलमा जनताको मतले प्रभाव पारिरहेको बताउनुभयो। तरपनि स्थिरता पहिलो संकल्प बन्नुपर्ने उहाँको भनाइ छ।
अहिलेको संसदीय व्यवस्थामा दुई वा दुईभन्दा बढी दलहरु मिलेरै सरकार चलाउनुपर्ने बाध्यता छ।यसकारणपनि विभिन्न उठेका सवालहरु प्रभावित भइरहेका छन्। गठबन्धन टुटफुटको एक कारण पनि लागेका आरोपले निरुपण नपाउँदा बन्ने गरेको छ। अहिलेको संक्रमणकालीन अवस्थामा हरेक दलले स्थायित्वको संकल्पसहित आफूमाथिका प्रश्नको जवाफ दिन सक्नुपर्दछ।