काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री मेटमणि चौधरीले अब आफूहरू सत्ता प्राप्तिको भर्याङ मात्र नबन्ने दाबी गर्नुभएको छ । उहाँले गठबन्धनको सहमति अनुसार कि त बागमती कि त सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसले पाउनुपर्ने भएपनि त्यो नभएकाले सुदूरपश्चिम सरकारमा आफूहरू फरक कित्तामा उभिएको जिकिर गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले अहिलेको सत्ता गठबन्धन बनेकै नभएकाले अब अध्यक्ष माधवकुमार नेपाल छिट्टै प्रधानमन्त्री बन्ने दाबी गर्नुभयो । आफूहरू सत्ताबाट बाहिरिने बित्तिकै जसपालगायतका अन्य दलपनि बाहिरिने र सरकार ढल्ने जिकिर गर्नुभयो ।
सुदूरपश्चिममा नाउपाका लक्ष्मण किशोर चौधरी मुख्यमन्त्री हुने दाबी गर्दै उहाँले सरकार ढल्ने सुरुवात भएको बताउनुभयो । सङ्घीय सरकार पनि छिट्टै ढल्छ भन्ने संकेत सुदूरपश्चिमले देखाएको उहाँले दाबी गर्नुभयो ।
जबसम्म पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिको मियो बनिरहन्छन् तबसम्म मुलुकले स्थायित्व नपाउने र मुलुक गोल चक्करमा फसिरहने जिकिर गर्दै उहाँले प्रचण्डलाई मूलधारको राजनीतिबाट बाहिर राख्नै पर्ने दाबी गर्नुभयो । उहाँले प्रचण्डकै कारण मुलुकले राजनीतिक स्थायित्व पाउन नसक्ने भन्दै सोही कारण राजनीतिप्रति वितृष्णा बढेको जिकिर गर्नुभयो ।