Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान

विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान

  • सोमवार, बैशाख ३ २०८१

  • 1.5K
    SHARES

  • विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरवेजको जहाजबाट वासिङ्टन डिसीका लागि उड्नुभएको हो ।  

    मन्त्री पुनलाई बिदाइ गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णसहित सहसचिवहरू अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् । 

    तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्य सञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्नु हुने छ ।

    यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ ।  

    मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने छ । 

    मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा सङ्क्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुनेछन् ।  ती बैठकहरूमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी ५ वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, सङ्खुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नुहुने छ । 

    यस्तै मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलन तथा नेपालमा लगानी अनुकूल वातावरण निर्माणमा सरकारका तर्फबाट भएका सुधार प्रयासबारे विश्व बैंकसहित विकास साझेदार र निजी क्षेत्रलाई अवगत गराउनुहुने छ । वैदेशिक लगानीका लागि प्रतिकूल ठानिएका करिब एक दर्जन कानुन संशोधनका लागि अध्यादेश ल्याउने तयारी सरकारले गरेको छ । 

    ती बैठक तथा भेटहरूमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जाजरकोट, रुकुम र बझाङमा भूकम्पका कारण भत्किएका निजी आवास तथा शैक्षिक संस्थाका भवन पुनर्निर्माण एवं दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा सहायता बढाउन विकास साझेदारलाई आग्रह गरिने मन्त्री पुनले बताउनुभयो ।  

    उहाँका अनुसार अन्तर्राष्ट्रिय विकास साझेदारबाट नीतिगत सुधारका लागि प्राप्त हुँदै आएको सहायता कार्यान्वयन प्रभावकारी बनाउने तथा सहायताका थप क्षेत्र र सम्भावना पहिल्याउने विषयमा समेत छलफल हुनेछ ।


    सोमवार, बैशाख ३ २०८१०६:५९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij