काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको छ। संघीयता र धर्मनिरपेक्षताको खारेजी, संवैधानिक राजतन्त्रको पुनःस्थापनासहितको माग गर्दै आएको राप्रपाले काठमाडौंमा आज बृहत् प्रदर्शन गर्न लागेको हो।
भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ। राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाइ उतार्ने दाबी गरेको छ। राप्रपाले यसअघी विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो ।
जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका माग रहेका छन् ।
यस्तै राप्रपाले काठमाडौंका माइतिघरसहितका क्षेत्रको निषेधाज्ञा तोड्ने घोषणा गरेको छ। सोही घोषणालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ।
राप्रपाले प्रदर्शनका लागि विभिन्न जिल्लाबाट मानिसहरूलाई काठमाडौंमा ओसारेकोले करिब १० हजार जना प्रदर्शनमा सहभागी हुन सक्ने सुरक्षा निकायको आकलन छ।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको छ।