काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्ष पदका उम्मेदवारी दर्ता गरिदैं छ। भोली हुने उक्त निर्वाचनका लागी आज नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा उमेदवारी दर्ता गर्ने कार्यक्रम राखिएको हो।
सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ।
संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन्।
राष्ट्रिय सभामा हाल ५८ सदस्य छन्। नेकपा (माओवादी केन्द्र) का १७, नेपाली कांग्रेसका १६, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक÷एक तथा दुई जना मनोनीत सदस्य छन्।
नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालबिच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनेबारे सहमति भइसकेको छैन। फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले समेत सो पदमा दाबी गर्दै आएको छ।
गठबन्धनमा सहभागी दलको ३७ मत छ। जुन बहुमतका लागि पर्याप्त हुनेछ। निर्वाचन कार्यक्रम अनुसार आज नै दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिने छ। दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको चैत २८ गते बुधबार बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ।