काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । माओवादी केन्द्रले भने इलाम २ मा नेकपा एमालेलाई समर्थन गर्ने निर्णय गरेको छ ।
सबैले उम्मेदवार टुंगाएपछि अहिले इलाम–२ र बझाङ प्रदेश सभा (१) मा चुनावी सरगर्मी बढेको छ । धेरैलाई लागेको थियो अहिलेको सत्ता गठबन्धन इलाम–२ मा एकले अर्कोलाई समर्थन गरेर जान्छन् भनेर तर नेकपा माओवादी केन्द्र बाहेक अन्य दलले आ आफ्ना उम्मेदवार उठाएका हुन्।
नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेदवार बन्नुभएको हो ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकार बनाउनका लागि मात्रै भएकाले आगामी सबै निर्वाचनमा छुट्टाछुट्टै लड्ने बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले उपनिर्वाचनमा एमालेलाई आफूहरूले सघाउनुपर्ने कुनै पनि कारण नभएको स्पष्ट पार्नुभएको छ ।
गठबन्धनका कुनै पनि बैठकमा एकअर्काको समर्थनमा लड्ने भन्ने कुरा नै नउठेकाले स्वतन्त्र र आ–आफ्ना उम्मेदवार उठाएको पनि नेता खनालको भनाइ छ । अहिलेको अवस्थामा अलगअलग हिँड्नु नै वामपन्थी एकता भएको पनि उहाँको तर्क रहेको छ ।
नेपाली कांग्रेसले हिजो मात्र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंह र इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको हो । खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुभएको थियो ।
नेपाली कांग्रेसमा गगन, शेखर पक्ष र सभापति देउवाबीच उम्मेदवार टुंग्याउने विषयमा लामो समय विवाद थियो । तर अन्तिममा आएर देउवाले आफ्नो पक्षका खड्कालाई उम्मेदवार बनाउनु भएको हो ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक गिरीले उम्मेदवारका विषयमा विवाद नरहेको दाबी गर्दै संसदीय समितिले निर्णय गरिसकेपछि अब सबै एक भएर पार्टीलाई जिताउन लाग्नुपर्नेमा जोड दिनुहुन्छ ।
इलाम २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता, पर्सी २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र निर्वाचन चिह्न वितरण गरिने आयोगको कार्यतालिका रहेको छ । यसैगरि,चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारप्रसारको समय रहेको छ । वैशाख १५ गते मतदानको कार्यतालिका रहेको छ ।