काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार(आज) नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.०९ अंकले घटेर ३५५.४२ विन्दुमा कायम भएको छ।
यो साताको छ वटै कारोबार दिन नेप्से परिसूचक उकालो लाग्न सकेन। पहिलो कारोबार दिन आइतबार १७.३० अंकले घटेको नेप्से सोमबार ६.२६, मंगलबार १.८५ अंक र बुधबार ३.४३ अंकले घटेर बन्द भएको थियो।
नेप्से सामान्य अंकले घटेपनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ। यसदिन ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर ३ अर्ब ३७ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा खरिदबिक्री भए।
यसदिन दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मानुषी लघुवित्त वित्तीय र मनकामना स्मार्ट लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यसैगरी गुराँस लघुवित्त वित्तीय,तारागाउँ रिजेन्सी र वीन नेपाल लघुवित्त वित्तीयको सेयर ९ प्रतिशत बढीले बढ्यो। यसदिन पिपुल्स पावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.२४ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २३ करोड मूल्य बढीको सेयर कारोबार भयो। शिवं सिमेन्टको १८ करोड २४ लाख मूल्य बढीको सेयर कारोबार हुँदा सर्वोत्तम सिमेन्टको १८ करोड,सूर्यज्योति लाइफ इन्स्योरेन्स र सोनापुरको ६–६करोड मूल्य बराबरको सेयर कारोबार भयो।
पाँच समूहको उपसूचक बढ्दा ८ वटाको सूचक नकारात्मक देखिएका छन्। आज सबैभन्दा बढी माइक्रो फाइनान्सको २.३८ प्रतिशतले बढ्यो। कारोबारमा आएका १०४ कम्पनीको मूल्य बढ्दा १३० वटाको मूल्य घट्यो।