काठमाडौं । गृहमन्त्री रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी रकम हिनामिना प्रकरणमा प्रतिपक्षी दल नेपाली कांग्रेसले आजपनि आवाज उठाएको छ । प्रतिनिधिसभाको बैठकमा समय लिँदै कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले अब आउने बैठकमा संसदीय छानबिन समिति बनेको पाउनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । शर्माले आजकै दिनबाट समिति गठनमा दिएको अल्टिमेटम सकिएको जानकारी दिनुभयो । यद्यपि कांग्रेस नयाँ समीकरणको तयारीमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को नजीरलाई गलत दिशातर्फ लैजाने प्रयत्न गरेको रास्वपाले आरोप लगाएको छ । रास्वपाका नेता एवं सांसद डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे संसद्को रोस्टममा बोल्छु भन्दा प्रतिपक्षीले बन्देज गराउनु नैतिक धरातललाई बिर्सनु रहेको बताउनुभयो । यदि कसैलाई आरोप लागेमा राजीनामा दिने नजीर स्थापित गर्ने हो भने सर्वदलीय निर्णय गर्नुपर्ने वाग्लेको माग छ । जसकालागि रास्वपा पहिलो नम्बरमा हस्ताक्षर गर्न तयार रहेको उहाँले जिकिर गर्नुभयो ।
नेपाली कांग्रेसले विगतका नजीरहरूलाई हेरेर छानबिन समिति माग गरेको अधिवक्ता केशवराज जोशीको भनाइ छ । गृहमन्त्रीकाविरुद्ध सहकारी पीडितहरूले पूरक जाहेरी दिएको र पहिलो नम्बरमा लामिछानेको नाम, चौथो नम्बरमा दीपेश पुनको नाम रहेकोले चौथो नामवाला पक्रिने पहिलो नमबरवालाले उन्मुक्ति पाउन नहुने जोशीको जिकिर छ । शक्ति र सत्तामा भरमा आरोपित चोख्याउने नीति गलत हुने उहाँको भनाइ छ ।
कांग्रेसले भद्र प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको जनाएको छ । विगतमा संसद् अवरुद्ध हुँदा कुर्सी समेत तोडफोड भएको स्मरण गराउँदै उसले आफ्नो शालीनतालाई कमजोरी नठान्न समेत भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सहकारीमा गृहमन्त्रीको कुनै संलग्नता नदेखिएको दाबी गर्नुभएको छ ।