काठमाडौं। सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनका बैठक बस्दै छन्। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ।
त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
उता राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ।
आजको बैठकमा अध्यक्षले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ।