काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै हुनुहुन्छ। नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो।
सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भएपनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ। वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ।
माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने बताउनुभयो। उहाँले केन्द्रको सहमतिविपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।