काठमाडौं । २०७९ सालको आमनिर्वाचनमा कैलालीको टीकापुरबाट स्थापना भइ संघ र प्रदेशमा केही सिट हासिल गरेको नागरिक उन्मुक्ति पार्टीभित्र चरम विवाद सिर्जना भएको छ । नाउपाका संरक्षक रहेका रेशम चौधरीको अगुवाईमा स्थापना भएको पार्टीमा अहिले विवाद सिर्जना भएको हो । रेशम र रञ्जिता श्रेष्ठको अलग–अगल गुट बनेसँगै भर्खरै बामे सरिरहेको पार्टी धरासायीको अवस्था पुगेको हो ।
आज सरकारको विषयमा छलफल गर्न राजधानीमा बोलाएको बैठकमा तनाव भएको थियो । विवाद र हात हालाहालका बीच पनि बैठक केहीबेर चलेको थियो । नाउपाका संरक्षक चौधरीले कसैको उक्साहटमा पार्टीका अध्यक्ष श्रेष्ठले गतिविधि गरिरहेको आरोप लगाएपछि विवाद सुरु भएको थियो । चौधरीको उक्त भनाइलाई उहाँका बुवा लालवीर चौधरीले पनि साथ दिनुभएको थियो । रेशम पक्षका दीप तामाङ र राजन गुरुङले झम्टिएर रञ्जिता पक्षमा रमेश विक र रामलाल डगौरामाथि हातपात गरेका थिए । कुटाई खाएका रमेश बिकले आफूलाई चौधरीले हत्या गरिदिने धम्की दिएको बताउनुभएको छ ।
टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौँराले रेशमको पक्षबाट कुटाइ पाएका छन् । डगौँराले पार्टीमा भएको गुटबन्दीका कारण समस्या निम्तिएको बताउनुभयो । आफूहरु पछिल्लो अवस्थामा बनेको केन्द्रीय समिकरणमा जानका लागि तयार रहँदा पार्टी संरक्षक रेशमले गलत गतिविधि बढाएको उहाँको आरोप ।
टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत श्रेष्ठले कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप लगाएपछि श्रेष्ठ आक्रोशित बन्न पुग्नुभएको थियो । अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि त्यहाँ भनाभनको अवस्था निम्तिनुका साथै हात हालाहाल समेतको स्थिति आएको हो । रेशमको मेहनतले पार्टी स्थापना भएको भन्दै उहाँका पक्षधरहरुले गुटबन्दी नगर्न सुझाएका थिए ।