काठमाडौं । गायक केतन क्षेत्रीको स्वरमा ‘परदेशी आयो’ बोलको गीत बजारमा आएको छ । प्रकाश सापकोटाको शब्द तथा सुवास भुषालको संगीतमा रहेको उक्त गीतमा कलाकार विपिन कार्कीको अभिनय रहेको छ ।
'परदेशी आयो, कोशेली ल्यायो, नभन्नु है आमा
नुनिलो आँशु पिएर आए, अमिलो रगत दिएर आए' गीतमा यस्ता शब्द समेटिएका छन्।
पछिल्लो समय स्वदेशमा बसेर रोजगार र आर्थिक अवस्था बलियो नहुने भएपछि रहर र चाहना नहुँदा नहुँदै पनि धनपैसाको लागि विदेशीने युवाहरुको संख्या बढ्दो छ ।
बा-आमा, श्रीमती, छोराछोरी, आफू जन्मिएको गाउँ र साथीहरुलाई छोडेर धन कमाउने सपना बोकेर परदेशिएका युवा परदेशमा आफूले भनेजस्तो जागीर नपाएपछि रित्तो हात फर्किनुपरेको तितो यथार्थलाई कलाकार विपिन कार्कीले कथामार्फत उतारेका छन् ।
परिवारलाई सुख दिने सपना बोकेर हिँडेका विपिनको परदेशमा सपना तुहिएका छन् । जानु अगाडिको परदेश र गैसकेपछि दु:ख पाइसकेको परदेशमा धेरै फरक पाएपछि विपिनले अब परदेश कहिले पनि नजाने कसम समेत खाएका छन् ।
परदेशबाट घर फर्किएका विपिन रित्तै छन् तर आफ्नो देशमा फर्कन पाएकोमा उनी र परिवार पनि खुशी छन् ।
गीतमा विपिनसँगै सुरविर पण्डित, सर्मीला शर्मा, कविता न्यौपाने लगायतको अभिनय रहेको छ । देवेन्द्र नेपालको निर्देशन रहेको गीत गोल्डेन हर्ट पिक्चर्स नामक अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।