काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले पटकपटक सदनमा आवाज उठाउँदै आएको छ । आजको संसद्मा पनि कांग्रेसले संसदीय छानबिन समितिको माग गरी केहीबेर सदन अवरुद्ध गरेको थियो । तर, सत्ता साझेदार दलहरूले लामिछानेलाई सुनपानी छर्किने काम गरेको भन्दै कांग्रेस आक्रामक पनि बनेको छ । समिति बन्ने संकेत नदेखिएपछि कांग्रेसले संसद्का नियमित कार्यक्रमहरू भने अवरुद्ध नगर्ने नीति अख्तियार गरेको देखिएको छ । कांग्रेस सचेतक सुशीला थिङले आफूहरू जिम्मेवार पार्टी भएकोले सदनको कामकारबाहीमा बाधा नगर्ने उहाँको भनाइ छ ।
सत्ता साझेदार दल नेकपा एमालेले पनि कांग्रेसको भूमिका शङ्कास्पद रहेको भन्दै गतिरोध ननिम्त्याउन भनेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री अफर गर्दा गल्ती नदेख्ने अहिले फरक समीकरणमा गृहमन्त्री बन्दा संसद् अवरुद्ध गर्ने चरित्र ठिक नभएको जिकिर गर्नुभयो । सहकारीका समस्याहरूलाई नजरअन्दाज गर्न नमिल्ने भएकोले सरकार जिम्मेवार भएर अघि बढ्ने उहाँको आश्वासन छ ।
मुलुकमा राजनीतिक उथलपुथल भइरहेका कारण स्थिर सरकार बन्न समस्या देखिएको छ । अहिलेको व्यवस्थाले कुनैपनि दललाई बहुमत दिन नसक्दा विभिन्न पार्टीका नेताहरूले आफ्नो वैयक्तिक चरित्र समेत देखाइरहेका छन् । आफू मात्रै बन्ने होडबाजीका कारण देश कमजोर बनिरहेको छ । माओवादी केन्द्रका नेता लेखनाथ दाहाल राजनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुशासन कायम गर्ने योजनामा सबैले साथ दिन जरुरी छ । तर, पटकपटकले प्रयोगले जनतामा भरोसा छैन ।
कांग्रेस गृहमन्त्री लामिछानेप्रति नरम देखिँदै आएको छ । सहकारीको मुद्धालाई नछोडेपनि आक्रामक बनिहाल्ने पक्षमा देखिन्न । संसद्का नियमित कामहरू अब भने सरल ढंगले अघि बढ्ने देखिएको छ । सत्तापक्षले आफूले अवलम्बन गरेका कार्यभारहरू पूरा गर्न अब पनि ढिलो गरे नयाँ पुराना सबै दलहरू जनताको नजरमा कमजोर बन्दै जानेछन् ।