काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको बामपन्थी एकताको काम पुनः थालिएको बताउनु भएको छ। आज २४ औं जेल ब्रेक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएक प्रधानमन्त्री प्रचण्डले सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्दै समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको पनि उल्लेख बताउनुभयो।
उहाँले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गर्नुभयो ।
उहाँले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको र आफू समाजवादी क्रान्ति पूरा गर्नका लागि नथाकेकोसमेत जिकिर गर्नुभयो । उहाँले बामपन्थी शक्तिहरुबीचको एकताले समाजवादी क्रान्तिलाई पूरा गरेर मुलुकमा एउटा नयाँ इतिहास रच्ने बताउनुभयो ।