काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आज बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघी पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने र अध्यक्ष रञ्जिता श्रेष्ठले नयाँ गठबन्धनमा जाने अडान राखेपछी विवाद रहँदै आएको थियो। तर आज अध्यक्ष श्रेष्ठसहितको बैठकले यस्तो निर्णय लिएको केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताउनुभयो।
केन्द्रीय सदस्य विश्वकर्माले पार्टीमा दुई धार देखिए पनि अहिले नागरिक उन्मुक्तिले पार्टीको हित र जनताको हितमा काम गर्न नयाँ गठबन्धनमा जानु उपयुक्त भएको ठहर गरेको बताउनुभयो।
पार्टीका संरक्षक नेता रेशमलाल चौधरी हाल जापान भ्रमणमा हुनुहुन्छ। यहाँले यसअघि सुदूरपश्चिममा शाह नेतृत्वको सरकारलाई समर्थन रहने भन्दै पाँच जनालाई मन्त्री नियुक्त गराउनु भएको थियो।
उहाँले केन्द्र सरकारको संसदमा पनि विपक्षमा रहने बताएपनि संसदीय दलका नेता तथा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गर्नुभएको थियो।