काठमाडौं। बागमती प्रदेश सरकारबाट हाम्रो नेपाली पार्टी बाहिरिएको छ। प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएरै बाहिरिएको बताएको छ।
हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले जनताले दिएको म्यान्डेटअनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको बताउनुभयो।
यसअघी हाम्रो नेपाली पार्टी सहितका दलहरुले नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएका थिए ।
हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्यनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेता बज्राचार्यले बताउनुभयो।
उहाँले प्रदेश सरकारमा अंक गणितमा सानो दल भएपनि संसदीय मूल्य र मान्यता कायम राख्न सशक्त भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
उहाँकाअनुसार समर्थन फिर्ता लिएको जानकारीको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र प्रदेश सभा सचिवालय हेटौँडालाई समेत दिएको छ ।