काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भेटवार्ता भएको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी १५ वैशाखमा हुने उपनिर्वाचन, प्रदेश सरकार हेरफेर र संघीय सरकारको पूर्णताबारे छलफल भएको छ।
आगामी १५ वैशाखमा इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । दुवै क्षेत्रमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। तर माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारबारे निर्णय लिएका छैनन् । यसबारेपनि छलफल भएको बुझिएको छ,।
नेताहरूको भेटवार्तापछि सोमबार नै प्रधानमन्त्री प्रचण्डले जसपाका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराउनु भएको छ। २५ सदस्यीय मन्त्रिपरिषदमा दुई सदस्यको पद रिक्त छ।
गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण बदलेर एमालेसँग गठबन्धन गरेपछि नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकार पनि हेरफेर गर्ने तयारी छ। यस सम्बन्धमा पनि आज छलफल भएको छ ।