काठमाडौं। आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसमा ७ जनाको नाम सिफारिस गरिएको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिले आंकाक्षीमध्ये ७ जनाको नाम आज सिफारिस गरेको हो ।
समिति सिफारिस गरेकाहरुमा पहिलो नम्बरमा भेषराज आचार्य, दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरिएको छ। खड्का गत निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित हुनुभएको थियो।
पहिलो नम्बरमा नाम सिफारिस गरिएका आचार्य २०७० को निर्वाचनमा पराजित हुनुभएको थियो। नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस भएको छ। अब कांग्रेसको संसदीय बोर्डले उम्मेदवार सिफारिस गरिएकामध्येबाट उम्मेदवार चयन गर्नेछ ।
एमाले सांसद सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा १५ वैशाखमा निर्वाचन हुँदैछ ।