काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो। सीआईबीका अनुसन्धान अधिकृतहरूले दुईदिन लगातार महराको बयान लिएका छन्।
स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका हुन्।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन्। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्धा चलाउन सिफारिस गरेको थियो।
आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर पूरक प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले बताउनु भयो।