काठमाडौं। गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेको घोषणा गर्नुभएको छ। मनाङेले प्रदेश सभा सचिवालयमा निवेदन दिँदै केन्द्रमा फेरिएको गठबन्धनले गण्डकी प्रदेशमा पनि अस्थिरता फैलिने देखिएपछि नेकपा एस त्यागेकोले स्वतन्त्र सांसदको हैसियत माग गर्नुभएको छ।
प्रदेश सभा सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा मनाङेले उल्लेख गर्नुभएको छ, ‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा(एकीकृत समाजवादी)दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु, विना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउँछ, गण्डकीमा त्यस किसिमको परिस्थिति सिर्जना हुन नदिन सधैं प्रतिबद्ध छु।’
गण्डकी प्रदेशलाई मध्यावधितिर जानबाट रोक्नुपर्ने भएकोले आफूले एकीकृत समाजवादी त्यागेको उहाँको भनाई छ। ०७९ सालको निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र रूपमा निर्वाचित निर्वाचित मनाङे पछिमात्रै एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो। अहिले एकीकृत समाजवादी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनमा छ। उहाँले अहिलेकै कांग्रेस नेतृत्वको गण्डकी सरकारलाई समर्थन गर्ने संकेतसमेत गर्नुभएके छ ।