काठमाडौं। आज सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ। संघिय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ।
प्रतिनिधी सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्नुहुने, माननीय उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, आ.व. २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल जारी रहने कार्यसूची रहेको छ।
त्यस्तै राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। साथै कार्य व्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि छलफल र निर्माणार्थ प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा अर्थ मन्त्रीबाट जवाफ दिने कार्यसूची रहेको छ।